धार्मिक पर्यटनलाई पनि मुलुकको समृद्धिको एउटा माध्यमका रुपमा लिइन्छ । धार्मिक पर्यटनका थुप्रै गन्तव्यमध्ये रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाम यसक्षेत्रको एउटा उदाउँदो केन्द्र मानिन्छ । पर्रोहा परमेश्वर बोलबम धामलाई धार्मिक आस्थाको एउटा केन्द्रमात्र होइन, नेपालको धार्मिक पर्यटन प्रवद्र्धनको एक आकर्षक गन्तव्य बन्दै गएको छ ।
सैनामैना–१ मा रहेको यो धामलाई गुरुयोजना बनाएर गुरुकुल पाठशाला, धार्मिक गतिविधिका संरचनाका साथै नेपाली मौलिक संस्कृति झल्कने कलाकौशलका मन्दिरहरु बनाउने, ध्यान केन्द्र बनाउनेलगायतका आकर्षक योजनामा काम भइरहेका छन् ।
स्थानीय धार्मिक अगुवा र आध्यात्मिक गुरुहरूले यस धामलाई ‘नेपालको दोस्रो पशुपतिनाथ’ मान्ने गर्दछन् । स्वयम्भू उत्पत्तिमान महादेवको रूपमा चिनिने यस स्थलमा अब मूल मन्दिरको भव्य निर्माण भइसकेको छ भने अन्य पूरक संरचनाहरू निर्माणाधीन छन् ।
१४ करोडको गुरुयोजना, आधाभन्दा धेरै काम पूरा
गुरुयोजना बनाएर धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउने कामका परिकल्पनाकार तथा तत्कालीन सैनामैना नगरप्रमुख हाल धामका अध्यक्ष चित्रबहादुर कार्कीका अनुसार १४ करोड लागतको गुरुयोजनाका आधाभन्दा धेरै काम पूरा भइसकेको छ । बाँकी कामका लागि बजेटको सुनिश्चितता र थप जग्गा प्राप्तिका प्रक्रियामा छलफल जारी छ । अहिले डेढ विगाहा क्षेत्रफलमा धामका विभिन्न संरचना निर्माण भएका छन् । बाँकी संरचना र ध्यान केन्द्रसहितका पाठशाला र धार्मिक गतिविधिका लागि करिब पाँच विगाहा बराबरको क्षेत्रफल जग्गाको खाँचो छ ।
बोलबम यात्राको सुव्यवस्थित व्यवस्था, धर्मशाला, शौचालय, पिउने पानी, विश्रामस्थल, मेला क्षेत्रलगायतका संरचनाहरू केही तयार भइसकेको छ बाँकी पनि विस्तारै निर्माण गरिने छ । ‘बोलबम धामलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपमा विकास गरेर सैनामैनाको पहिचान निर्माण गर्ने अभियानमा यहाँका सबैजना एकजुट भएका छौं’ हाल धामका अध्यक्ष समेत रहेका अगुवा कार्कीको भनाइ छ ।
यात्रुको संख्यामा बर्सेनि भएको वृद्धि, व्यवस्थित गुरुयोजना, स्थानीय नेतृत्वको सक्रियता र आध्यात्मिक सन्देशको समन्वयले यो स्थल अब केवल आस्थाको केन्द्र मात्र होइन, स्थानीय समृद्धिको मूल स्रोत पनि बन्ने संकेत देखिएको वडा नं.४ का अध्यक्ष रामप्रसाद अधिकारीले बताए ।
श्रद्धा, समर्पण र व्यवस्थापनको संगम बनाएर अझ व्यवस्थित रुपमा काम गर्ने हो भने पर्रोहा बोलबम धाम, लुम्बिनी प्रदेशको धार्मिक पर्यटनको गौरव बन्न सक्ने सम्भावन रहेको यसक्षेत्रका अगुवा खुशीराम चौधरीको भनाइ छ । उनले स्थानीयले अपनत्व गर्नेगरी योजनाबद्ध कामको थालनी गर्नुपर्ने र गुरुयोजनामा समेटिएका संरचना निर्माणका लागि स्रोतको खोजी गर्नुपर्नेमा जोड दिए ।
हरेक वर्ष श्रावणी मेला र एक महिने जलार्पण
यो धाममा हरेक वर्ष साउन महिनामा लाग्ने बोलबम यात्रा तथा जलार्पण कार्यक्रम मुलुककै एक प्रमुख धार्मिक कार्यक्रम मानिन्छ । यहाँ हरेक वर्ष लाखौं भक्तजन जल चढाउन र बोलबम यात्रा गर्न आउने गर्छन् । धाम परिसरमा रहेको शिव पञ्चायन, गणेश, पार्वती, लक्ष्मीनारायण, सन्तोषी माता मन्दिर, १०८ शिवलिङ्ग, नागकुण्ड, ५.५ फिटको शिवमूर्ति र चन्द्रमा आकारको सरोवर प्रमुख आकर्षण हुन् ।
बोलबमः पानी र सृष्टिको आध्यात्मिक सन्देश
बोलबम यात्राको धार्मिक एवं सांस्कृतिक पक्ष झनै गहिरो छ । ‘बोलबम’ भन्ने शब्द स्वयंमा पानी र सृष्टिको महत्वको प्रतीक हो । सम्पूर्ण चराचर जगत् पानीमा आश्रित रहेको र शिवलिंग सृष्टिको प्रतीक भएको धार्मिक मान्यता छ । श्रावण महिनामा महिलाले लगाउने चुरा र मेहेन्दी तथा भक्तहरूले शिवलिंगमा जल अर्पण गर्नु सृष्टि र ऊर्जा सन्तुलनको प्रतीक मानिन्छ । यो यात्राले कामवासनाको नियन्त्रण, आत्मिक शुद्धि र धार्मिक अनुशासनको अभ्यास गराउने जनविश्वास रहिआएको छ ।
पौराणिक कथन अनुसार, भगवान शिवले समुद्र मन्थनमा उत्पन्न कालकुट विष पिएर सृष्टिको रक्षा गरेपछि उनको कण्ठ निलो भयो । त्यो विषको ताप कम गर्न देवी–देवताले उनलाई निरन्तर जलार्पण गरे, जसको निरन्तरता आजको बोलबम यात्रामा देखिन्छ ।

