प्रतिकूल मौसमले कांग्रेसको क्षेत्रिय अधिवेशनको कार्यतालिकामा असर

काठमाडौंः नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन शनिबारबाट सुरु हुँदै छ। प्रतिकूल मौसमको कारण क्षेत्रीय अधिवेशनको तालिका संशोधन गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। अब क्षेत्रीय अधिवेशन १० देखि १३ असोजसम्म गर्ने गरी कार्यतालिकामा संशोधन गरिएको छ।

‘क्षेत्रीय अधिवेशनका तीन दिनको समय दिने निर्णय भएको छ,’ कटुवालले भने, ‘मौसम प्रतिकूलताका कारण १० गतेका लागि निर्धारित समय सीमामा तीन दिन थपिएको छ।’

मधेश प्रदेशलगायतका विभिन्न जिल्लामा वडा अधिवेशन नै सम्पन्न हुन ढिलो हुँदा प्रदेश–प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १३ असोजसम्म धकेलिएको हो।

‘असोज १३ गतेसम्म प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भए निर्धारित मितिमै महाधिवेशनको प्रक्रिया अगाडि बढाउन कुनै समस्या हुँदैन,’ उनले भने, ‘त्यसमा पनि केही ढिलो भएको भने असोज १८ मा महाधिवेशन उद्घाटन गर्नुपर्ने अवस्था आउनु सक्छ।’

कांग्रेसमा यसपटक पालिका सभापति र प्रदेशसभा क्षेत्रीय सभापति पनि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएकाले अधिवेशन गराउनैपर्ने बाध्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *