घरको फोहर बाहिर ननिकाल्न कामपाको अनुरोध

काठमाडौं : काठमाडौं महानगरपालिकाले घरको फोहर बाहिर ननिकाल्न अनुरोध गरेको छ। महानगरपालिकाले आज(शुक्रबार) सूचना जारी गर्दै अहिले भइरहेको अबिरल वर्षाका कारण फोहर ढुवानीमा समस्या भएकाे भन्दै घरबाट ननिकाल्न आग्रह गरेको हाे।

महानगरपालिकाका अनुसार फोहोर ढुवानी गर्ने सडक र ल्याण्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेको हुँदा फोहर ढुवानी तथा विसर्जन गर्ने कार्यमा असहजता उत्पन्न भएको छ।

महानगरपालिकाले भनेको छ,‘यस विषम परिस्थितिका कारण केही समयका लागि फोहर संकलन तथा ढुवानी कार्य प्रभावित हुन सक्ने भएकाले महानगरवासी, घरधनी, व्यवसायी तथा सम्बन्धित सबैमा आफ्नो घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहर सडक, चोक, सार्वजनिक स्थल, खोला-नाला वा अन्य खुला स्थानमा नफाल्नु हुन अनुरोध छ।’

फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म फोहर सुरक्षित रूपमा आफ्नै घररपरिसर भित्र राख्नु हुन,फोहरलाई सड्ने/जैविक र नसड्ने फोहर छुट्याई सुरक्षित रूपमा व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ।

यस्तै,सडक तथा सार्वजनिक स्थानमा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्ने भएकाले विशेष सावधानी अपनाउन र वर्षा तथा ल्याण्डफिल साइटको अवस्था सामान्य हुना साथ फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सुचारु गरिने महानगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *