काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले दोस्रो सन्तानलाई जन्म दिन लागेको जनाएका छन् । छोरी दुआसँगको पारिवारिक तस्वीर सार्वजनिक गर्दै उनीहरूले यो खुसीको कुरा प्रशंसकमाझ सार्वजनिक गरेका हुन् ।
परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने तयारीमा रहेका उनीहरूले इन्स्टाग्राममा सार्वजनिक गरेका श्याम श्वेत तस्वीरमा तीनै जना हाँस्दै, खेल्दै र सँगै विशेष क्षण बिताइरहेको देखिन्छ ।
रणवीरले इन्स्टाग्राममा तस्वीर सार्वजनिक गर्दै दीपिकालाई ट्याग गरेर लेखेका छन्, ‘बेबी दुआ र हाम्रो हृदय दुवै ठूला हुँदैछन्, तपाईंहरूको आशीर्वादका लागि धन्यवाद ।’ यो पोस्ट दुआको दोस्रो जन्मदिनसँग पनि जोडिएको छ । सेप्टेम्बर ८ मा दुआ दुई वर्षकी भएकी छन् । रणवीर र दीपिकाले सन् २०२४ मा छोरीलाई स्वागत गरेका थिए ।
दीपिका र रणवीरले सन् २०१८ मा लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । उनीहरूले इटालीमा विवाह गरेका थिए । सन् २०२४ को सेप्टेम्बरमा उनीहरूको पहिलो सन्तानका रूपमा छोरी दुआको जन्म भएको थियो ।
दुई ठूला प्रोजेक्टबाट अलग भएपछि दीपिका शाहरुख खानको फिल्म ‘किंग’मा आबद्ध भएको आधिकारिक घोषणा गरिएको थियो । यो फिल्म शाहरुखसँग उनको छैटौं सहकार्य हो ।

