बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारततर्फ लाग्नुभएको छ । विद्यार्थीहरूको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । उहाँ चढेको हेलिकप्टर भारततर्फ लागेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर हजारौँ प्रदर्शनकारीले लुटपाटका साथै तोडफोड शुरू गरेका छन् । सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र बनाउने क्रममा लगेका योद्धाका परिवारलाई दिइएको कोटाका कारण सर्वसाधारण जागिरबाट वञ्चित भएको भन्दै शुरू भएको आन्दोलनमा दुई सय जनाको ज्यान गएको थियो ।
सर्वोच्च अदालतले धेरैजसो कोटा खारेजीको परमादेश दिइसकेको छ । तर विद्यार्थीहरूले पक्राउ परेकालाई रिहाइ र दमन गर्ने प्रहरीमाथि कारबाहीको माग राखेर केही दिनदेखि फेरि आन्दोलन गरेका थिए । आन्दोलनमाथि झनै दमन बढेपछि उनीहरूले प्रधानमन्त्रीकै राजीनामा माग गरेका थिए ।
हिजोको आन्दोलनमा मात्रै ९० जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो । समग्रमा गएको जुलाईदेखि भइहेको आन्दोलनमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ ।