मतदानमा युवादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता, सुरक्षा व्यवस्था मजबुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र उल्लासमय वातावरणमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ । युवादेखि जेष्ठ नागरिकसम्मको उत्साहपूर्वक सहभागिता रहेको छ ।

विशेषगरी जेष्ठ नागरिकहरूमा मतदानप्रतिको आकर्षण र उत्साह लोभलाग्दो रहेको आयोगले जनाएको छ । जेष्ठ नागरिकहरु लौरो टेकेर मतदान केन्द्रमा पुगेका छन् । शारीरिक रूपमा अशक्त भए पनि आफ्नो मताधिकार प्रयोग गर्न आएका छन् । चुनावलाई निष्पक्ष र भयरहित बनाउन मतदान स्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

मतदान केन्द्रको प्रवेशद्वारमै सुरक्षाकर्मीहरूले विशेष सतर्कता अपनाएका छन् । सुरक्षाकर्मीहरूले मतदाताको परिचयपत्र सुक्ष्म रूपले जाँच गर्ने र सुरक्षाका लागि हाते मेटल डिटेक्टरसहित शारीरिक खानतलासी गरेर मात्र भित्र प्रवेश गर्न दिएका छन् ।

मतदानलाई सहज बनाउन महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । डोरी टाँगेर बनाइएका यी लाइनहरूले भीडभाडलाई व्यवस्थित बनाएको छ । ड्युटीमा खटिएका महिला तथा पुरुष सुरक्षाकर्मीहरूले सुरक्षा दिनुका साथै ज्येष्ठ नागरिकहरूलाई डोर्‍याएर मतदान बुथसम्म पुग्न सहयोग गरिरहेका छन् । 

यसैबीच चुनावको सुरक्षा बारे गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवम् गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले ‘मनिटरिङ’ गरेको छ । मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको ‘कन्ट्रोल रूम’मा बसी सबै चुनावी क्षेत्रहरुको मनिटर गरिरहनुभएको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।