महिला मतदाताको उत्साह : ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो ।

आज भने उहाँले एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको चुनावका लागि नजिकैको ‘बुथ’ मा निस्किनुभयो । ‘पहिला भोट हाल्ने अनि खाना खाउँला भनेर निस्किएँ’, उहाँले भन्नुभयो, ‘यो हाम्रो लागि उत्सव हो । हाम्रो अधिकार हो उत्सवमा ढिलाइ गर्नु हुँदैन ।’

उहाँ जस्तै मध्यबानेश्वरमा रहेकाे रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा भोट हाल्न आउनेमध्ये महिला मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । उहाँहरूले पहिला भोट अनि अरू काम गर्ने भन्ने धारणाका साथ भोट हाल्न आएको बताउनुभयो ।

पोखराकी अनिता मानन्धरले मतदान गर्नकै लागि माइत बानेश्वर आएको बताउनुभयो । विगतमा भन्दा यस पटकको चुनाव आफ्ना लागि विशेष चासो रहेको बताउनुभयो । ‘त्यसैले पोखराबाट यहाँ आएँ’, उहाँले भन्नुभयो, ‘नवयुवा आन्दाेलनपछिको रानजीतिक मुहार जो परिवर्तन गर्नुछ ।’

रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा पर्यवेक्षकका रूपमा खटिनुभएका हरिओम महेताले यस बुथमा बिहान ७ बजेर ५ मिनेटमा ९३ वर्षीया कौशिला तिमल्सिनाले ‘ख’ केन्द्रमा मतदान गरेसँगै मतदान प्रक्रिया शुरू भएको जानकारी दिनुभयो । मत खसालेपछि फर्किने क्रममा असहज भएपछि सुरक्षाका लागि राखिएको डोरी काटेर सजिलो बनाइएको उहाँले बताउनुभयो ।

‘वृद्धवृद्धालाई केही समस्या भएपछि बाटो परिवर्तन गरेर सजिलो बनाउने गरेका छौँ’, उहाँले भन्नुभयो, ‘समग्रमा मतदान शान्त र व्यवस्थित हुँदै गएको छ । महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताले सहज रूपमा मत खसाल्न पाउनुभएको छ ।’

डिल्लीबजारमा रहेकाे पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्रमा मत खसाल्न आउनुभएकी धनु राईले पहिलो पटक आफूले मतदान गरेको बताउनुभयो । विदेशमा रहेका श्रीमानले आफूले मत खसाल्न नपाए पनि श्रीमतीले मतदान दिन आग्रह गर्नुभएको उहाँले बताउनुभयो । मत खसालेपछि औँलामा नीलो रङ्ग लगाइएको तस्वीर खिचेर श्रीमानलाई ह्वाट्स एपमा पठाएको उहाँले सुनाउनुभयो ।

यति मात्रै होइन मतदाताहरूसँग स्थलगत रिपोर्टिङ गर्ने क्रममा बुझ्दै जाँदा महिलाले भोट हाल्नुले मतको अधिकार प्रयोग हुनाका साथै मताधिकार प्रयोग गरेकामा परिवारका अरू सदस्य पनि खुशी भएका प्रतिक्रिया दिएका छन् ।

शङ्खमूलमा रहेकाे स्वप्नबाटिका स्कूलमा भेटिनुभएकी प्रतीक्षा श्रेष्ठले मत खसाल्नका लागि गोर्खाबाट काठमाण्डाै आएको बताउनुभयो । सही नेतृत्व चयन गर्ने अधिकार गुमाउन नदिनका लागि उहाँ काठमाण्डाै आउनुभएको हो । पेसाले शिक्षक हुनुभएकी उहाँले भन्नुभयो, ‘हाम्रो एक मतले देश बन्छ ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।