साउन १६, कास्की – तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्दथ्यो । तर अहिले समय बदलिएको छ, होटल रेस्टुरेन्टमा मात्र हैन घरमा ढिँडो पकाएर खाने चलन बढेको छ ।
तीन दशककै अन्तरालमा कोदोप्रतिको धारणा एकाएक परिवर्तन भएको अगुवा किसान रमेश आचार्य बताउनुहुन्छ । पछिल्लो समयमा विशेषगरी पाखाबारीमा कोदो लगाउने क्रम बढेको भए पनि पर्याप्त जनशक्ति नहुँदा यसको खेती अपेक्षित विस्तार भने हुन नसकेको उहाँले जानकारी दिनुभयो । अन्य अन्नभन्दा कोदोको खेती गर्न श्रम र लगानी बढी खर्च हुने भए पनि किसानले यसको उचित मूल्य पाउन नसकेको आचार्यले बताउनुभयो ।
वर्षौंसम्म राख्दा पनि नबिग्रने कोदो विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो । मानिसको शरीरमा आवश्यक पर्ने ‘प्रोटिन’ को मात्रा अत्यधिक हुने कोदोका साथै कोदोजन्य बालीका रूपमा कागुनो, धानकोदो, जुनेलो, बाजरा, सामा र चिनु रहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । कोदोजन्य बालीमा पर्ने यिनीहरूलाई कोदाका सात भाइ पनि भन्ने गरिएको छ । पछिल्लो समयमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै यो खेती गर्ने क्रम वर्षेनि घट्दै गएको छ ।
स्वास्थ्यका लागि बहुपोषण एवम् औषधीय गुण रहेको कोदोको माग बढ्दो रहे पनि त्यस अनुसार उत्पादन भने हुन सकेको छैन । उहाँका अनुसार कृषिको राष्ट्रिय तथ्याङ्क अनुसार धान, मकै, गहुँ पछि चौथो बढी उत्पादन हुने अन्नमा कोदो पर्दछ । पोखरामा भने यो धान र मकै पछि बढी उत्पादन हुन्छ ।
पोखरामा कुल तीन हजार ८१५ हेक्टर क्षेत्रफलमा कोदो लगाउने गरिएको जानकारी दिँदै प्रमुख कडरियाले यहाँको वार्षिक उत्पादन चार हजार ५०० टन रहेको बताउनुभयो । ‘कोदो उत्पादनमा किसानलाई आकर्षित गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाले कोदोको प्रतिकिलो ९० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ’, उहाँले भन्नुभयो ।
सरकारले यसै वर्षदेखि प्रत्येक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरिसकेको छ । ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार’ नाराका साथ यस वर्ष देशभरि राष्ट्रिय कोदो दिवस मनाउन लागिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा महानगरपालिकाले लिबर्ड र वडास्तरीय कृषि सञ्जालसँगको सहकार्यमा पोखरामा प्रथम राष्ट्रिय कोदो दिवस मनाउन लागेको जानकारी दिनुभयो ।
राष्ट्रिय कोदो दिवसकै अवसरमा आजै कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो । महोत्सवका अवसरमा कोदो रोपाइँ प्रतियोगितासहित विभिन्न कार्यक्रम गर्न लागिएको उल्लेख गर्दै उहाँले महोत्सवले कोदो खेतीको प्रवर्द्धनसँगै सर्वसाधारणलाई यसतर्फ आकर्षित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बताउनुभयो ।
विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो हप्तातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका धेरैजसाे बारी यतिखेर बाँझै छन् । कोदो खेती कम पानीमा पनि हुने, मकैलगायत अन्तरबालीका रूपमा पनि लगाउन सकिने र बाँदरजन्य समस्याबाट पनि कम क्षति हुने भएकाले यसको उत्पादनलाई महानगरपालिकाले जोड दिएको शाखा प्रमुख कडरियाको भनाइ छ ।
विशेषतः मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको छ । मानिसका लागि अत्यावश्यक आइरन र अन्य भिटामिन कोदोमा पाइन्छ । विशेषतः आइरन चक्की खाने गर्भवतीका लागि कोदोको परिकार बहुउपयोगी मानिन्छ ।
कोदोबाट रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु रक्सी पनि बनाउने गरिन्छ । कोदोखेतीको सम्भावनालाई उजागर गर्दै यसबाट स्थानीयवासीको आजआर्जन बढाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोदोको उत्पादनमा जोड दिँदै यहाँका होटेल तथा रेस्टुरेन्टको मेनुमा अनिवार्य कोदोको परिकार समावेश गर्ने योजना अघि बढाइसकेको छ ।
गाउँपालिकाले गर्दै आएको कोदो महोत्सवमा कोदोको सेलरोटी, सुक्खारोटी, ममलगायत २५ भन्दा बढी परिकार बनाएर खुवाउने गरिन्छ । पोखरा महानगरपालिकासहित कास्कीका सबै पालिकाका साथै आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्ला कोदो उत्पादन बढ्दै गएपछि पछिल्ला वर्षमा उत्पादन भने घट्दो रहेको छ । कोदो खेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति पनि लोप हुँदै गएका छन् ।
विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजातिका पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएको किसानहरू बताउँछन् । कोदो खेतीप्रतिको आकर्षण बढाउन सकेमा यो मानवीय स्वास्थ्यका बहुउपयोगी हुनाका साथै खाद्यान्न उत्पादनमा आत्मनिर्भरता बढाउने कडरिया बताउनुहुन्छ ।