बुटवल । बुटवल मिलनचोकस्थित एक होटलमा भएको घटनासम्बन्धी समाचार प्रकाशित गरेको रुपन्देहीका पत्रकार दिनेशकुमार श्रेष्ठलाई धम्की दिएकोप्रति संचारसम्बद्ध संघ–संस्थाहरुले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठलाई धम्की दिएकोप्रति महासंघ रुपन्देही तथा प्रेस चौतारी रुपन्देहीले आइतबार एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन्
खबरकुरा डट कमका सम्पादक रहेका श्रेष्ठसहित उक्त अनलाइनका प्रधानसम्पादक राजन पौडेल, प्रवन्ध सम्पादक शरण कर्माचार्यलाई पनि फोनमार्फत धम्की आएको थियो । विज्ञप्तिमा भनिएको छ, “आधिकारिक निकायले पुष्टि गरेको विवरणका आधारमा समाचार प्रकाशन गर्नु पत्रकारको दायित्व हो। सो समाचार हटाउन दबाब दिनु र धम्की दिनु प्रेस स्वतन्त्रता माथिको प्रहार हो।” कात्तिक १६ गते ९आइतबार बिहान० फोनमार्फत एक जना पुरुष र घटनामा मृत्यु भएका पुरुषकी छोरी बताउने एक जना महिलाले अनलाइनबाट समाचार हटाउन र समाचार नहटाए कार्यालय तोडफोड गरिदिने र साइट बन्द गरिदिने भन्दै धम्की दिएको पीडितले बताएका छन् ।
महासंघले समाचारप्रति असन्तुष्टि भए कानूनी बाटो अवलम्बन गर्न सकिने भन्दै धम्की र दबाब दिने कार्य प्रेस स्वतन्त्र प्रेसमाथिको हमला भएको स्पष्ट पारेको छ। महासंघले समाचारमा चित्त नबुझे प्रेस काउन्सील र अन्य निकायहरु रहेको भए पनि धम्की दिने शैली उचित नभएको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आधिकारिक निकायले पुष्टि गरेका विवरणका आधारमा प्रकाशित भएको समाचारलाई आधार मानेर आफू अनुकुलको समाचार प्रकाशन नभएको भन्दै समाचार हटाउन दबाब दिँदै धम्की दिने यस्ता घटनामा संलग्नलाई कानूनबमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं ।’
यस्तै प्रेस चौतरी रुपन्देहीका अध्यक्ष भगवती पाण्डेले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएकी छन् । प्रेस चौतारीले यस्ता धम्की र दवावका घटना दोहोरिन नदिन कानूनी कारबाहीको माग गर्दै सम्पूर्ण पत्रकार समुदायलाई एकताको साथ अभिव्यक्तिको स्वतन्त्रता र प्रेस स्वाधीनताको पक्षमा उभिन आग्रह गरेको छ।
विज्ञप्तिमा थप भनिएको छ, “पत्रकारलाई डर देखाएर वा धम्की दिएर सत्य सूचना प्रकाशनबाट रोक्ने प्रयास सह्य हुँदैन। अपराधी पहिचान गरी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायहरूलाई चौतारीले आग्रह गर्दछ।”

