काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।
स्मार्ट सेल (टेलिकम) सँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो ।
सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि छानबिन भइरहेको छ ।
दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले २०७० साल वैशाखमा अनुमति पाएको थियो । तर अनुमतिपत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो ।
लाइसेन्स खारेजीपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरणमार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको थियो । भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ती गैरकानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो ।