सरकारका निर्णय कार्यान्वयन गर्दिनँ भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा आज पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता हुन्छ, कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।’

आफू नागरिकलाई परिणाम दिने गरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उहाँको उद्घोष छ ।

‘सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १, २, ३ वा क, ख, ग कोठा चाहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस् यसैबाट सुशासन ल्याउन सकिन्छ’, उहाँले भन्नुभयो ।

नवयुवाकाे जनादेशलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट निर्णय भएपछि त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने जनाउँदै उहाँले सरकारका निर्णय कार्यान्वयन गर्दिनँ भन्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो ।

निर्देशन सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले अहिलेको परिवर्तन नवयुवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गर्न लगाउनुभएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।