कुकुर र मानिसबीचको सम्बन्ध १५ हजार वर्षभन्दा पुरानो : अध्ययन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मानव सभ्यतामा कृषि युग आउनुभन्दा हजारौँ वर्षअघि नै कुकुर मानिसको घनिष्ठ साथी बनिसकेको नयाँ अनुसन्धानले देखाएको छ । वैज्ञानिकहरूले कुकुर र मानिसबीचको मित्रता हामीले सोचेभन्दा धेरै पुरानो रहेको पत्ता लगाएका हुन् ।

दक्षिण–पश्चिम इङ्ल्यान्डको सोमरसेटमा रहेको एउटा गुफाबाट भेटिएको बङ्गाराको हड्डीले यो नयाँ तथ्य उजागर गरेको हो । बीबीसीकाअनुसार डीएनए विश्लेषणले त्यो हड्डी झन्डै १५ हजार वर्ष पुरानो घरपालुवा कुकुरको रहेको पुष्टि गरेको छ ।

नेचर जर्नलमा प्रकाशित यो अनुसन्धानअनुसार त्यस युगका शिकारी–सङ्कलकहरूले कुकुरलाई खुवाउने र मरेपछि धार्मिक रूपमा गाड्ने गर्थे । यसले कुकुरहरू आफ्ना ब्वाँसो पुर्खाहरूबाट घरपालुवा बनेको यसअघि विश्वास गरेको समयलाई झन्डै ५ हजार वर्ष पछाडि धकेलेको छ ।

प्राकृतिक इतिहास सङ्ग्रहालयका डा. विलियम मार्शकाअनुसार यो खोजले पहिलो कुकुर र ढुङ्गे युगका मानिसबीचको मित्रता एकदमै प्रारम्भिक कालदेखि नै रहेको पुष्टि गर्छ ।

वैज्ञानिकहरूका अनुसार खैरो ब्वाँसाका सन्तान ती कुकुरहरू शुरूमा मानव शिविर वरिपरि बचेको खाना खाँदै घुमिरहन्थे र क्रमशः घरपालुवा बन्दै गए । पछि मानिसहरूले तिनलाई शिकार, सुरक्षा र अन्य कामहरूमा पनि उपयोग गर्न थाले ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।