नेपालीको साहस र वीरताको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रपति रामचन्द्र पौडेलले वीर पूर्खाहरूको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेकाले यस्तो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गरेका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २५०औँ जन्मजयन्तीको अवसरमा शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल आदिकालदेखि दक्षिण एसियामा एक मात्र स्वतन्त्र राष्ट्र रहन सफल भएको बताए ।

'भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ', उनले भने, ‘नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाइएको पनि छ, त्यसको सत्यतथ्य यथार्थ रूपमा विश्वमा प्रचार गर्न आवश्यक छ ।’ राष्ट्रपति पौडेलले इतिहासको जगमा उभिएको वर्तमानमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा राखे । 'हाम्रा वीर पूर्खा र अग्रजहरूकै सुझबुझ पूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौँ, यसमा टेकेर समृद्ध र सबल राष्ट्र निर्माणमा जुट्न आवश्यक छ', राष्ट्रपतिले भने ।

यसैगरी उनले आफ्नो शासनकालमा सामाजिक, आर्थिक र कानुनी क्षेत्रमा सुधार गरी सेनालाई आधुनिकिकरण गराउन, सामाजिक सुधारका कार्यअन्तर्गत कैयौँ कुप्रथा र कुसंस्कारको अन्त्यमा योगदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा एक प्रेरक व्यक्तित्व भएको बताए । भीमसेन थापाकै राष्ट्रवादी अडानका कारण नेपाल स्वतन्त्र रहन सकेको राष्ट्रपतिको भनाइ थियो ।


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।