काठमाण्डौ — प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै हुनुहुन्छ । दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाइएको छ ।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने सचिवालयले जनाएको छ । यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ । कुन–कुन विश्वविद्यालय कसरी चलिरहेका छन्, उनीहरूका समस्या के–के छन्, नतिजा प्रकाशनदेखि शैक्षिक क्यालेन्डर, बजेट, विद्यार्थीको अवस्थालगायत विषयमा प्रधानमन्त्रीले छलफल गर्ने तयारी छ ।
बैठकमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, कृषि र वन विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, नेपाल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, नेपाल विश्वविद्याल र प्रादेशिक विश्वविद्यालयहरू मनमोहन प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेश कृषि विश्वविद्यालय, मधेश विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय, बागमती विश्वविद्यालयका पदाधिकारीहरू सहभागी हुनेछन् ।