स्वर्णलक्ष्मी सहकारीबाट जिबी राईको गोरखा मिडियामा साढे ५ करोड ट्रान्सफर : सूर्य थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले हालसम्म गोरखा मिडिया नेटवर्कमा एउटा ४ करोड ८८ लाख  हजार २७१ रुपैयाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सीधै २० लाख र जिबी ग्रुप अफ कम्पनीमा ५० लाख रकम गएको पाइएको जानकरी दिएका छन्। शुक्रवार बसेको समिति बैठकपछि सञ्चारकर्मीहरुसँग उनले सबैगरी करिब साढे ५ करोड रुपैयाँ सूर्यदर्शन सहकारीबाट गएको देखिएको बताए। ​जिबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरुमार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा रकम गएको बताए। 

उनले एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि उदाहरण रहेको बताए। कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ भन्ने तथ्य प्राप्त भएको बताए।

बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीहरुसँग छलफलसमेत गरेको उनले जानकारी दिए। छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, ईमेज, साहारा, समानतालगायतका सहकारी संस्थाहरुमा केन्द्रित भएको उनले बताए। 

‘स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरुलाई व्यवस्थित गर्नेबारे कस्तो अवस्था छ भन्नेबारे छलफल गर्‍यौँ। खासगरी सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिको रिपोर्टको बारेमा जानकारी लियौँ‚’ समिति सभापति थापाले भने‚ ‘काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखा परेको प्रवृत्तिबारे छलफल गर्‍यौँ। सुप्रिम सहकारीबारे प्रदेश रजिष्ट्रारको कार्यालयले तथ्य विश्लेषण गरेको रहेछ‚ त्यसबारे पनि छलफल भयो।’

सञ्चारकर्मीहरुसँग उनले स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरुको अवस्था कस्तो छ भन्ने विषयमा छलफल भएको बताए। बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनका बारेमा जानकारी लिएको उनले बताए। सुप्रिम सहकारीबारे पनि जानकारी लिएको उनको भनाई छ। 

काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखापरेको प्रवृत्तिको बारेमा पनि बैठकमा छलफल भएको सभापति थापाले जानकारी दिए। 

छलफलमा बागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानून अधिकृत मनोजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भीमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौँ महानगरपालिकाबाट विभागीय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको जानकारी सभापति थापाले दिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।