काठमाण्डाै – पाकिस्तानको टी–२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् ।
एनपीएलको टोली कर्णाली याक्सले तेस्रो संस्करणका लागि फरहानलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
फरहानले गएको मार्चमा भएको आईसीसी पुरुष टी–२० विश्वकपमा ६ खेलबाट ३८३ रन जोड्दै कीर्तिमान बनाएका थिए । उनी टी–२० विश्वकपको एउटै संस्करणमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए ।
यसअघि यो कीर्तिमान भारतका विराट कोहलीको नाममा थियो । कोहलीले सन् २०१४ को टी–२० विश्वकपमा ३१९ रन बनाएका थिए ।
फरहान एउटै संस्करणको टी–२० विश्वकपमा २ वटा शतक प्रहार गर्ने पहिलो ब्याटर पनि हुन् । उनले यही वर्ष भएकाे विश्वकपमा नामिबिया र श्रीलङ्कासँगकाे खेलमा शतक बनाएका थिए ।
फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार ५५४ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा १८६ खेलमा ५ हजार ७७५ रन बनाएका छन् ।
एनपीएल आउँदो सोमवार कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

