उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा

काठमाडौं : स्याँफ्रुबेंसी,टिमुरे, बेत्रावती लगायत भोटेकोशी बाढीले बगाएका स्थानहरू अहिले चित्कार र विलापको बगर बनेको छ।

भदौ १० गते मध्यरातमा भोटेकोशीको मुहानबाट गर्जंदै झरेको कालो लेदो र चट्टानी बाढीले केरुङ, रसुवागढी, स्याफ्रुबेंसी, मैलुङ हुँदै बेत्रावतीका सयौं वर्ष पुराना बस्तीहरूलाई केही मिनेटमै सोहोरेर त्रिशूलीको गहिराइमा बिलाइदियो। भदौ १० गते बिहान जब रसुवा र नुवाकोटका सीमावर्ती बासिन्दा नयाँ दिनको दिनचर्या शुरु गर्दै थिए।

हिमालको फेदबाट ढुङ्गा र माटोको भीषण गडगडाहट सुनियो। सीमाक्षेत्र केरुङतर्फ भीषण हिमताल वा पहिरो थुनिएर फुटेको बाढी भोटेकोशीको साँघुरो गल्छीबाट उर्लिएको थियो। पानीको सतह सामान्यभन्दा धेरै मिटर माथि उठेको थियो। खोला किनारका घरहरू तासको पत्ताझैं ढले र सडकहरू क्षतविक्षत भए। कतिले आँखा अगाडि आफ्नै घर र छिमेकीका परिवार खोलाले निलेको देखे। न बचाउन गुहार माग्न सके न कता भाग्ने पत्तो भयो। बेत्रावती बजारको आधा भाग अहिले त्रिशूलीको बगर भएको छ।

रसुवाको केरुङ नाका र रसुवागढी भन्सार क्षेत्रबाट शुरु भएको यो महाविपद्ले सडक सञ्जाललाई क्षतविक्षत पारेको छ। टिमुरे, तातोपानी, स्याफ्रुबेंसी र मैलुङका जलविद्युत आयोजनाहरूमा कार्यरत प्राविधिक, श्रमिक र स्थानीय व्यापारीहरू गरी सयौं व्यक्ति बाढीको पहिलो चपेटामा परे। मैलुङमा निर्माणाधीन तथा सञ्चालित हाइड्रोपावरका क्याम्पहरू बगाउँदा सम्पर्कविहीन हुनेहरूको संख्या धेरै छ।

बेत्रावतीमा फलाखु खोला र त्रिशूलीको संगमले अझै विशाल रूप लिएर नुवाकोटको त्रिशूली बजार, बट्टारको तल्लो भूभाग, देवीघाट, धादिङको गल्छी, मलेखु, जोगिमारा हुँदै चितवनको मुग्लिन र देवघाटसम्म ताण्डव मच्चाएको छ। धादिङ र चितवनका तटीय फाँटहरूमा लगाइएको धानबाली हजारौं हेक्टर बलौटे लेदोले पुरिएको छ। २०७२ को महाभूकम्प भोगेका हामीले नदीले यसरी सिङ्गो गाउँ र हजारौं मान्छेलाई एकै निमेषमा बगाएको इतिहास कहिल्यै सुनेका थिएनौँ।

नेपाल सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले हेलिकप्टर र डोरीको सहायताले जोखिमयुक्त ठाउँबाट उद्धारको प्रयास गरिरहे पनि कतिपय स्थानमा लगातारको वर्षा, बाक्लो कुहिरो र सडक सञ्जाल पूरै विच्छेद भएकाले माथिल्लो रसुवा पुग्न निकै कठिन भएको छ।

अहिलेसम्म करिव ४ हजार नागरिक बेपत्ता रहेका छन्। तर यकिन तथ्यांक आइसकेको छैन। नदी किनारमा आफन्त खोज्न उभिएका बालबालिका र वृद्धवृद्धाको आँसुले जोकोहीको मुटु चसक्क पार्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *