काठमाण्डाै – शेयर बजार लगातार छैटौँ कारोबार दिन घटेको छ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज ४३.८९ अङ्कले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ । नेप्से भदौ ४ गतेयता घटिरहेको छ ।
आज उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह ५ प्रतिशतले ओरालो लागेको छ ।
रसुवाकाे भाेटेकाेशीमा आएको बाढीले जलविद्युत् आयोजना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएसँगै यसको असर निर्जीवन बीमा क्षेत्रमा देखिएकाे छ ।
आज २५३ वटा कम्पनीको शेयर घटेकोमा २१ वटाको बढेको छ । यस्तै ४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज मैलुङ खोला जलविद्युत्काे शेयर १५ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन उपकार लघुवित्तको शेयर १३ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीको ९३ लाख २२ हजार कित्ता शेयर ३ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएको छ ।

