अमेरिका र इरानलाई वार्ता पुनः शुरु गर्न राष्ट्रसङ्घको आह्वान

संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरु गर्न आह्वान गर्नुभएको छ ।

युद्धको ६ महिनापछि अमेरिका र इरानबीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय  द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एक मात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सँधै सम्पर्कमा रहेको डुजारिकले बताउनुभएको छ ।

महासचिवका लागि चिन्ताका विषयहरुमा द्वन्द्वको विनाशकारी मानवीय र आर्थिक परिणामहरू भएको उल्लेख गर्दै यसमा खाद्य आपूर्ति, विश्वव्यापी आर्थिक प्रभाव, मानवीय आवाश्यकताका सामानहरू तथा ऊर्जाको मूल्यमा उच्च वृद्धिलगायतका पक्षहरु समावेश रहेको उहाँले बताउनुभएको छ ।

गएको जुन १८ मा अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । तर, दुई देशबीच नयाँ तनाव बढेपछि वार्ताको प्रक्रिया पूर्वयोजनाअनुसार अघि बढ्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *