काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका विभिन्न क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् सेवा शुरु गर्ने कार्यलाई तीव्रता दिएको छ।
प्राधिकरणका सदस्य अंशुकिरण शाहीका अनुसार बाढीप्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्राधिकरणले दिएको जानकारीअनुसार नुवाकोटका खरानीटार, समुद्रटार, चौघडा, लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत् सुचारु गरिसकिएको छ।
यसैगरी बालाजु र त्रिशूलीको ६६ केभी प्रशारण लाइनमार्फत ११ केभी लाइन तानेर नुवाकोट जिल्लाभर आजै अपराह्नसम्म विद्युत् सेवा पुर्याउने लक्ष्य राखिएको छ।
यसैगरी पृथ्वी राजमार्गको मलेखु, गजुरी र मुग्लिङ क्षेत्रमा पनि विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। धादिङबेसीदेखि रातामाटे जोड्ने ३३ केभी प्रशारण लाइन मर्मत गरी सञ्चालनमा आएसँगै ती क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको शाहीले जानकारी दिए।
रसुवा जिल्लामा भने हाल क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। प्राधिकरणले गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरहेको र आगामी एक हप्ताभित्र रसुवामा विद्युतीकरण गर्ने योजना बनाएको छ।
त्रिशूली ३ ‘ए’ लगायतका जलविद्युत आयोजनामा सम्पर्कविहीन भएका कर्मचारी तथा प्रभावित स्थानीयको उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ।

