काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई फिक्स्ड इन्टरनेट बजारमा ठुलो धक्का लागेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार केवल एक महिनाको अवधिमा नेपाल टेलिकमले आफ्नो उच्च गतिको फाइबर इन्टरनेट (एफटीटीएच) सेवामा १८ हजार ३०० भन्दा बढी ग्राहक गुमाएको हो ।
इन्टरनेट बजारमा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरूको आक्रामक बजार विस्तार र तीव्र प्रतिस्पर्धाका बीच सरकारी दूरसञ्चार कम्पनीको फाइबर ग्राहक आधारमा ठुलो पहिरो गएको छ । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन २०८३ को एमआईएस प्रतिवेदन अनुसार, नेपाल टेलिकमको एफटीटीएच प्रयोगकर्ता सङ्ख्या ३ लाख ९४ हजार ५५२ बाट (असार २०८३) एकमहिनामै घटेर ३,७६,२३३ मा सीमित भएको छ । यो केवल एक महिनामा १८,३१९ (करिब ४.६४ प्रतिशत) को ठुलो गिरावट हो ।
समग्र बजारको चित्र: टेलिकम ओरालो लाग्दा निजी क्षेत्रको आक्रामक छलाङ
नेपाल टेलिकमले ठुलो सङ्ख्यामा ग्राहक गुमाए पनि नेपालको समग्र फिक्स्ड इन्टरनेट बजार भने ओरालो लागेको छैन, बरु सुस्त गतिमै भए पनि सकारात्मक दिशातर्फ बढेको छ ।
असार २०८३ मा नेपालभर कूल फाइबर ग्राहक सङ्ख्या ३५ लाख ४३ हजार १२५ रहेकोमा साउनमा बढेर ३५ लाख ५० हजार ४७० पुगेको छ । यसले समग्र फाइबर इन्टरनेट बजार एक महिनामा ७,३४५ ग्राहकले बढेको देखाउँछ ।
टेलिकमका ग्राहक घटिरहँदा निजी इन्टरनेट सेवाप्रदायकहरूले भने आक्रामक रूपमा ग्राहक थपेका छन् । असारमा निजी आईएसपीहरूको कूल फाइबर प्रयोगकर्ता ३१ लाख ४८ हजार ५७३ रहेकोमा साउनमा २५ हजार ६६४ नयाँ फाइबर ग्राहक थपिँदै कूल सङ्ख्या ३१ लाख ७४ हजार २३७ पुगेको छ ।
यसबाट नेपाल टेलिकमको नेटवर्कबाट बाहिरिएका फाइबर इन्टरनेटका ग्राहकहरू सिधै निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकतातर्फ आकर्षित भइरहेका देखिन्छ ।
फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्डको अवस्था (साउन २०८३ सम्म)
|
सेवाप्रदायक |
असार २०८३ को अवस्था |
श्रावण २०८३ को अवस्था |
खुद परिवर्तन (एक महिनामा) |
|
नेपाल टेलिकम एफटीटीएच ग्राहक |
३,९४,५५२ |
३,७६,२३३ |
-१८,३१९ (गिरावट) |
|
निजी आईएसपी फाइबर ग्राहक |
३१,४८,५७३ |
३१,७४,२३७ |
+२५,६६४ (वृद्धि) |
|
समग्र नेपालको फाइबर ग्राहक |
३५,४३,१२५ |
३५,५०,४७० |
+७,३४५ (वृद्धि) |
|
नेपाल टेलिकम कूल फिक्स्ड इन्टरनेट ग्राहक |
४,२२,३०४ |
४,०३,५३२ |
-१८,७७२ (समग्र गिरावट) |

